Daleykaka.com : नेपालमा घर, जग्गा, सम्पत्ति किनबेच र भाडा
Top Header Advertise Arabikaka

घरको नक्सा पास गर्न आवश्यक प्रक्रिया र कागजातहरू

08-Mar-2025 04:00
घर निर्माण गर्नु अघि अनिवार्य रूपमा पालना गर्नुपर्ने कानुनी प्रक्रिया मध्ये एक हो नक्सा पास। नेपालमा कुनै पनि घर निर्माण गर्दा सम्बन्धित नगरपालिका वा गाउँपालिकाबाट नक्सा पास गराउनुपर्छ। नक्सा पास नगरिकन बनाइएका घरहरू कानुनी रूपमा वैध मानिंदैनन्, साथै स्थानीय निकायले निर्माण कार्य समेत रोक्न सक्छ।
 
यदि तपाईं घर बनाउन लाग्नुभएको छ भने, नक्सा पास सम्बन्धी आवश्यक प्रक्रिया, कागजातहरू र महत्वपूर्ण जानकारी यहाँ प्रस्तुत गरिएको छ।
 
घरको नक्सा पास किन आवश्यक छ ?
१. कानुनी वैधता: नक्सा पास नगरिकन बनाइएको घर कानुनी रूपमा अवैध मानिन्छ।
2. सुरक्षा: घरको डिजाईन र संरचनागत मजबुती सुनिश्चित गर्न नक्सा पास आवश्यक हुन्छ।
3. बैंक तथा आर्थिक सहायता: बैंकबाट घर निर्माणका लागि ऋण लिन नक्सा पास अनिवार्य हुन्छ।
4. नगरको नियमअनुसार निर्माण: शहरी विकास तथा व्यवस्थित बस्ती निर्माणका लागि स्थानीय सरकारको नियमअनुसार नक्सा पास गर्नुपर्छ।
 
घरको नक्सा पास गर्नुपर्ने प्रक्रिया
१. इन्जिनियरबाट नक्सा बनाउने
 
सुचिकृत इन्जिनियर वा आर्किटेक्ट मार्फत नक्सा बनाउनु आवश्यक छ।
यदि घर तीन तल्लाभन्दा माथि छ वा १००० स्क्वायर फिटभन्दा ठूलो छ भने डिजाइन पनि नगरपालिकामा पेश गर्नुपर्छ।
२. निवेदन दिनुपर्ने कागजातहरू संकलन गर्ने
 
पासपोर्ट साइजको फोटो
नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
जग्गाको लालपूर्जा
चालु आर्थिक वर्षको मालपोत तिरेको रसिद
नक्सा पासको निवेदन फाराम
३. नगरपालिकामा निवेदन दिने
 
तोकिएको राजस्व शुल्क तिरेर निवेदन दिने।
नगरपालिका वा गाउँपालिकाले १५ दिनको सूचना टाँस गर्ने।
४. इन्जिनियरबाट स्थलगत निरीक्षण गर्ने
 
घर बन्न लागेको स्थानमा नगरपालिका इन्जिनियरले स्थलगत निरीक्षण गर्छ।
छिमेकीबाट कुनै समस्या नआउने प्रमाणित गर्नुपर्ने हुनसक्छ।
५. डिपिसी पास गर्ने र प्रमाणपत्र प्राप्त गर्ने
 
डिपिसी (DPC) अर्थात पहिलो तलाको आधार निर्माण गरेपछि पुन: पालिकाबाट निरीक्षण गराइन्छ।
इन्जिनियरको सिफारिसपछि नक्सा पास प्रमाणपत्र प्राप्त गर्न सकिन्छ।
६. नक्सा पासको म्याद
 
नक्सा पास भइसकेपछि २ वर्षभित्र घर बनाउनुपर्ने हुन्छ।
यदि समयमा घर बन्न सकेन भने फेरि २ वर्षका लागि म्याद थप्न सकिन्छ।
नक्सा पासका लागि आवश्यक कागजातहरू
१. जग्गा धनी प्रमाणपत्र (लालपूर्जा) प्रमाणित प्रतिलिपि
२. नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३. चालु आर्थिक वर्षको मालपोत तिरेको रसिदको प्रतिलिपि
४. नक्सा (ब्लुप्रिन्ट) कि.नं स्पष्ट हुने गरी नापी प्रमाणित
५. डिजाइन र नक्सा बनाउने इन्जिनियरको हस्ताक्षर सहितको नक्सा प्रतिलिपि
६. मजुरी लिएर घर बनाउन लागिएको भए वडामा मुद्दा शाखामा मञ्जुरीनामाको प्रमाण
७. जग्गामा बाटो स्पष्ट नभए वडाको रोहबरमा बाटो मञ्जुरीनामाको प्रमाण
८. जग्गा बैंकमा धितो राखिएको भए सम्बन्धित निकायबाट स्वीकृतिपत्र
९. गुठी वा मोही जग्गा भए स्वीकृतिपत्र
१०. वारिस राखी नक्सा पास गर्न लागिएको भए वारिस प्रमाणपत्रको प्रतिलिपि
 
नक्सा पास प्रक्रिया स्थानअनुसार फरक हुनसक्छ
नेपालका विभिन्न नगरपालिका र गाउँपालिकाहरूमा नक्सा पासको प्रक्रिया केही फरक हुनसक्छ। कतिपय स्थानमा अस्थायी अनुमतिपत्र, स्थायी अनुमतिपत्र तथा निर्माण सम्पन्न प्रमाणपत्र लिनुपर्ने हुन्छ। त्यसैले, नक्सा पास गर्नु अघि आफ्नो स्थानीय निकायमा सम्पर्क गरी आवश्यक जानकारी लिनु राम्रो हुन्छ।
 
घर बनाउने क्रममा नक्सा पास अनिवार्य छ। यदि नक्सा पास नगरिकन घर निर्माण गरेमा कानुनी कारबाहीमा पर्न सकिन्छ। साथै, बैंक ऋण, पुन: बिक्री, नामसारी, बीमा, कर छुट लगायतका फाइदाहरू लिन नक्सा पास अनिवार्य छ। त्यसैले, निर्माण प्रक्रिया अघि नै इन्जिनियरबाट नक्सा डिजाइन गराई सम्बन्धित निकायमा निवेदन दिएर नक्सा पास गराउनुपर्छ।

Latest Posts

  • घरको नक्सा पास गर्न आवश्यक प्रक्रिया र कागजातहरू

    08-Mar-2025
  • जग्गा खरिदबिक्री गर्दा अवश्यै सम्झनुपर्ने महत्त्वपूर्ण कुराहरू

    20-Feb-2025
  • रियल स्टेट व्यवसाय: व्यक्तिगत एजेन्ट र कम्पनीको फाइदा र चुनौतीहरू

    20-Feb-2025
  • मंसिरमा रियल इस्टेट कर्जामा बृद्धि

    14-Feb-2025
  • ग्रामीण भेगमा घरभाडाको सम्भावना, चुनौती, र भविष्य

    07-Jan-2025